अफगानिस्तानको ९ वटा प्रान्तीय राजधानी तालिबानको कब्जामा, सेना प्रमुख बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण

काबुल, २८ साउन (एजेन्सी)। अफगानिस्तानको सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ ।
विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तीय राजधानीहरु श्रृङ्खलाबद्ध रूपमा एकपछि अर्कोगर्दै कब्जा जमाउन थालेपछि त्याहाँको सरकारले सेना प्रमुख वली महम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनि गत जुन महिनामा नियुक्त भएका थिए ।

त्यहाँको रक्षा मन्त्रालयका अनुसार तालिबानको गतिविधि बढ्दै गए पछि सेना प्रमुख वलीलाई हटाएर हिबतुल्लाह अलिजइलाई ल्याइएको छ । नवनियुक्त सैन्य प्रमुखलाई देशभर बढेको हिंसा र तालिबानका गतिविधिलाई परास्त गर्नु पर्ने चुनौती रहेको छ ।

२० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । एक हप्तामा तालिबानले अफगानिस्तानका ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ ।

तालिबानले कान्दाहारलाई पनि कब्जा गर्ने प्रयास गरिरहेको छ । अहिले त्यहाँ भीषण सङ्घर्ष भइरहेको बीबीसीले जनाएको छ । युद्धका कारण कान्दाहारका ३० हजार परिवार विस्थापित भएका छन्।

अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफ पनि आक्रमणको चपेटामा परेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण गएको महिनामा मात्र अफगानिस्तानमा एक हजार जनाको ज्यान गएको छ ।

प्रतिक्रिया