कुन ब्लड ग्रुप भएकालाई कोभिड संक्रमणको जोखिम बढी ?
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण

काठमाडौं, २८ साउन । कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि विभिन्न प्रयास जारी छन् । पछिल्लो समय रक्त समूह (ब्लड ग्रुप) का आधारमा भाइरसको जोखिमबारे पनि अध्ययन गरिएको छ । सामान्यतया निश्चित रक्त समूह भएका व्यक्तिमा भाइरस वा ब्याक्टेरियाले बढी असर पार्ने हुँदा यसको प्रभावबारे बहस भइरहेको हो ।
कुन रक्त समूहमा कोभिड संक्रमणको जोखिम बढी ?

पछिल्लो समय रक्त समूहका आधारमा भाइरसको जोखिमबारे थुप्रै अनुसन्धान भएका छन् । डेनमार्क डेनिक अनुसन्धानकर्ताले गत साता प्रकाशित गरेको एक अध्ययन रिपोर्टअनुसार ’ए’ रगत समूह भएका व्यक्तिहरू कोभिडबाट बढी प्रभावित भएको पाइएको छ । डेनमार्कमा दुई लाख मानिसलाई रगत समूहको आधारमा सात हजार चार सय २२ जना कोभिड संक्रमितसँग तुलना गरिएको थियो ।

अध्ययनमा ’ओ’ रगत समूह भएका ४१.७ प्रतिशत सहभागीमध्ये ३८.४ प्रतिशतमा संक्रमण पजिटिभ देखिएको थियो । यस्तै कुल सहभागी ४४.४ प्रतिशत ’ए’ रगत समूह भएका सहभागीमध्ये ४२.४ प्रतिशतमा कोभिड पजिटिभ देखिएको थियो । ’ओ’ रगत समूह भएका व्यक्तिहरूमा सार्स कोभिड संक्रमणको जोखिम न्यून रहेको यसअघिको अध्ययनले प्रमाणित गरेको थियो ।

क्यानडामा गरेको एक अध्ययनअनुसार ’ए’ र ’एबी’ रगत समूहका ८४ प्रतिशत बिरामीलाई मेकानिकल भेन्टिलेसन आवश्यक परेको थियो । यसको तुलनामा जम्मा ’ओ’ र ’बी’ ब्लड ग्रुपका ६१ प्रतिशत संक्रमितमा मात्र गम्भीर लक्षण देखा परेका थिए ।

जुन अध्ययनले अन्य ब्लड ग्रुपको तुलनामा ’ए’ र ’एबी’ ब्लड ग्रुपका व्यक्तिहरू बढी प्रभावित भएको पुष्टि गरेको छ । जुन महिनामा ’द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले प्रकाशित गरेको अर्को अध्ययनले समेत रगत समूहका आधारमा कोभिडको जोखिम फरक हुने पुष्टि गरेको थियो ।

विज्ञहरूका अनुसार राता रक्त कोषहरू एन्टिजेन्सहरूले ढाकिएका हुन्छन्, जसले शरीरमा प्रतिरक्षा प्रणालीलाई तुरुन्त प्रतिक्रिया दिन मद्दत गर्छ । ’ओ’ र ’बी’ ब्लड ग्रुप भएका व्यक्तिमा एन्टिजोन्सहरूले कोषलाई ढाकेर राखेको हुन्छ, जसले भाइरस वा ब्याक्टेरियालाई सजिलै क्षति पुर्याउन दिँदैन ।

रगत समूहका आधारमा संक्रमणको जोखिम कति र कसरी फरक हुन्छ भन्नेबारे अझै अध्ययनहरू भइरहेका छन् । यसका कारणहरू पनि धेरै हुन सक्ने अध्ययनकर्ताहरू बताउँछन् ।

प्रतिक्रिया