अफगानिस्तानमा हिंसा बढ्यो : एकैदिन ४३९ लडाकू मारिए
अखबार टुडे
प्रकाशित:
२०७८, २७ श्रावण

काबुल, २७ साउन (एजेन्सी) । अफगानिस्तानमा एकैदिन थप ४३९ विद्रोही लडाकू मारिएको विभिन्न एजेन्सीहरुले जनाएका छन् । सरकारी सुरक्षाकर्मीहरुको सुरक्षा कारबाहीका क्रममा अन्य ७७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको अफगानिस्तानी सुरक्षा निकायहरुको भनाइ छ । विषेशगरी नानगारर्हार, कान्दहार लाघमन, लोगार, पाक्तीया, उरुग्गान, जाबुल, घोर, फराह, बाल्ख, हेल्मण्ड, कापिसा, बाघलानलगायतका प्रान्तमा सुरक्षा कारबाहीका घटना भएको जनाइएको छ ।

‘सुरक्षा कारबाही तीव्र पारिएका ठाउँमध्ये कान्दहार प्रान्तमा मात्रै २५ लडाकू मारिएको र १३ जना घाइते भएको विवरण प्राप्त भएको छ’ रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व भइरहेपनि पछिल्लो समयमा हिंसात्मक घटना थप बढेका छन् । अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिएको दाबी गरेकाले हिंसात्मक घटना बढेका हुन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरुले अफगानिस्तानमा आफ्ना गतिविधिहरुलाई तीव्रता दिएका छन् । तालिबान लडाकूहरुले अहिलेसम्म झण्डै आधा दर्जन प्रान्तीय राजधानी नियन्त्रणमा लिएको दाबी गरेका छन् । ती क्षेत्रहरुमा तालिबान लडाकू र अफगानी सुरक्षाकर्मीका बीचमा सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।

लडाकूहरूले हरेक प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयका अधिकारीहरुले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै तालिबान लडाकूलाई हटाउने दाबी गरेका छन् ।

प्रतिक्रिया