लुम्बिनी, २७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि विशेष अधिवेशन स्थगित भएको हो ।
दिउँसो एकबजे मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । तर राजीनामा दिएको जानकारी प्राप्त नभएको भन्दै दिउँसो १ बजे बैठक बसेको थियो ।
अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो । त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्ण बहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै विशेष अधिवेशन सकिएको छ ।
अधिवेशन सकिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन आह्वान गर्नेछन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।