रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए पदबाट राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७८, २७ श्रावण

काठमाडौं, २७ साउन । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबातट राजीनामा दिएका छन् । राजनीतिक प्रतिशोध लिन सरकारले पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेकाले आफूले राजीनामा दिएको बताएका छन् ।

बुधबार राजीनामा दिँदै उनले अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी सरकारसँग काम गर्न नसक्ने बताएका छन् ।

भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा इमानदारिताका साथ काम नगरि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी दिएको आरोप लगाइएको थियो ।

राजीनामा पत्रमा पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुण्ठित गर्ने ढङ्गले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उल्लेख छ ।

भट्टराईलाई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया