
काठमाडौं, २७ साउन ।सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियोे ।
उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । घिसिङलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी छन् ।
मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।
एक वर्षअघि उनको कार्यकाल सकिएसँगै पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न मानेका थिएनन् । नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच सहमति भएको थियो ।
घिसिङलाई उर्जामन्त्री पम्फा भुसालबाट नियुक्तिपत्र प्रदान गरिएसँगै ४ बर्षसम्म नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा सम्हालने छन् ।
