
बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल बोलाइएको विशेष अधिवेशनअगावै उनले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउँदैछन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा परेका थिए । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।
एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
दोस्रो पटक अल्पमतमा पर्दापर्दै असंवैधानिक ढंगले नियुक्त भएको भन्दै विपक्षी दलहरुले बहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर माग गर्दै आएका थिए । साउन १९ गते विपक्षी चार दलको गठवन्धनका ३४ जना सांसदले मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसअघि बैशाख ६ गते पनि पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । र, वैशाख १९ गते विशेष अधिवेशन बोलाएकै दिन पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दावी गर्दै दोस्रोपटक मुख्यमन्त्री नियुक्त बनेका थिए ।
