अफगानिस्तानमा तालिबान र सरकारी फौजबीचको सङ्घर्ष, तीन दिनमा २७ बालबालिका मारिए
अखबार टुडे
प्रकाशित:
२०७८, २६ श्रावण

काबुल, २६ साउन (एजेन्सी) । अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहँदा तीन दिनमा २७ बालबालिकाको ज्यान गएको छ । द्वन्द्वमा परि साही अवधिमा १ सय ३६ जनाभन्दा धेरै बालबालिका घाइते भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा परि महिला र बालबालिका बढी जोखिममा परेको जनाएको छ । राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसा बढेको र यसले स्तब्ध बनाएको जनाएको छ । कतिपय क्षेत्रबाट हजारौँ नागरिक घर छाडेर राजधानी काबुल गइरहेका छन् ।

घर छोड्न बाध्य परिवारका बालबालिका खुला आकाशमुनी सुत्न बाध्य भएको युनिसेफ अफगानिस्तानका समान्थ मोर्तलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साथै तालिबान विद्रोहीले महिला र बालबालिकालाई बन्धक बनाएको खबरमा उल्लेख छ ।

तालिबानले शुक्रवारयता अफगानिस्तानमा ५ वटा क्षेत्रीय राजधानीमा कब्जा जमाइसकेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ ।

प्रतिक्रिया