काठमाडौं, २६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव असंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाइ आज हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ तोकिएको हो ।
सोमबार प्रदेशसभा सदस्य लिला गिरीले मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावले संविधानको धारा १८८ को उपधारा ४ को व्यवस्थाको उल्लंघन भएकोले अविश्वासको प्रस्ताव दर्ता खारेज हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए । ‘संविधानको धारा १८८ को उपधारा ४ को व्यवस्थाअनुसार प्रदेश प्रमुखले गल्ती गरेकोले’ रिटमा उल्लेख छ ।
संविधानको धारा १८८ मा मुख्यमन्त्री नियुक्त भएको २ वर्षसम्म र एकपटक अविश्वासको प्रस्ताव विफल भएको एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल २०७४ मै नियुक्त भएको भएपनि गएको बैशाखमा उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि पुनः उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।
बैशाखमा नियुक्त भएको हिसाबले गणना गर्दा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको २ वर्ष पुग्दैन । पहिलो पटकको नियुक्तिको मितिबाट गणना गर्दा भने उनी मुख्यमन्त्री नियुक्त भएको २ वर्ष पुग्छ । रिट निवेदकले एक पटक राजीनामा दिइसकेर पुनः नियुक्त भएकोले पछिल्लो मिति अर्थात गएको बैशाखदेखि मात्र उनको अहिलेको कार्यकाल गणना हुने जिकिर गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।