जसपाका प्रदेशसभा सदस्यलाई पुनर्वहाली गर्न अस्वीकार
अखबार टुडे
प्रकाशित:
२०७८, २५ श्रावण


काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी ८ भदौमा दुवै पक्षलाई बोलाइएको छ ।

लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीबाट पदमुक्त भएका प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादव पुनर्बहालीको माग गर्दै यही साउन १५ गते रिट निवेदन दायर गरेका थिए ।

यसअघि अदालतको आदेशबाट उनीहरु पुनर्बहाली भएका थिए । यही ११ साउनमा निर्वाचन आयोगबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता पाएपछि उनीहरु पुनः कारबाहीमा परेका थिए । उक्त कारबाहीविरुद्ध उनीहरु अदालत गएका थिए ।

प्रतिक्रिया