१३ औँ संस्करणको साफ च्याम्पियनशिप माल्दिभ्समा हुने
अखबार टुडे
प्रकाशित:
२०७८, २५ श्रावण

काठमाडौं, २५ साउन । १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले सोमबार माल्दिभ्सलाई चयन गरेको हो ।
यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार आजको बैठकले नेपालमा भन्दा माल्दिभ्समा कोभिडको वातावरण तुलनात्मक राम्रो भएकोले माल्दिभ्सलाई उक्त प्रतियोगिता आयोजना गर्न चयन भएको बताए ।
१३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ । भुटानले भने तीन दिनभित्र निर्णय दिने एन्फाले जनाएको छ । अहिलेसम्म नेपालले सन् १९९७ र २०१३ गरी दुई पटक साफको आयोजना गरीसकेको छ ।

प्रतिक्रिया