काठमाडौं, २५ साउन । कोभिडविरुद्धको खोप अभियानअन्तर्गत आज (सोमबार)देखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन हुँदैछ । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु गर्न लागिएको हो ।
भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिए । उनले ्काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताए ।
यस्तै प्रदेश–१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने मन्त्रालयले जनाएको छ । प्रदेश–१ र प्रदेश–२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुँदैछ । अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।