‘द भ्वाइस अफ नेपाल सिजन–३’को विजेता किरण गजमेर भन्छन्, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु
अखबार टुडे
प्रकाशित:
२०७८, २४ श्रावण

काठमाडौं, २४ साउन । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेरले आफूले जितेको रकमबाट शरणार्थी नागरिकका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दुःख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’

उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् ः ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि जितेको पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

दर्शकबाट बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरिएको हो । उनले टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राईलाई पछि पार्दै टिम प्रमोदबाट भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् । अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् ।

प्रतिक्रिया