बार्सिलोनाले यस कारण गुमाउँदैछ मेसीलाई
अखबार टुडे
प्रकाशित:
२०७८, २२ श्रावण

काठमाडौं, २२ साउन । स्पेनिस फुटबल क्लब बार्सिलोनाले फुटवल स्टार लिओनल मेसीलाई गुमाउँदैछ । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो सम्झौता गत जुनमै सकिएको छ । अब पुनः बार्सिलोना र मेसीबीच सम्झौता नहुने भएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार आर्थिक र संरचनागत अवरोधका कारण ३४ वर्षीय मेसी अब क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ छ । यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको थियो । तर मेसीको तलब आधा घट्ने बताइएको थियो ।

‘क्लब र खेलाडी दुवैको इच्छा पूरा हुन नसकेकोमा दुवै पक्षलाई खेद छ’ बिहीबार जारी बार्सिलोनाले गरेको विज्ञप्तिमा भनिएको छ । मेसी र क्लब सहमतिमा पुगे पनि ला लिगाको नियमका कारण सम्झौता हुन नसकेको एजेन्सीले जनाएको छ ।

मेसी दुई वर्षको सम्झौता गर्नुका सट्टा आधा तलब घटाएर पाँच वर्षको सम्झौता गर्न तयार भएको बिबिसीले जनाएको थियो । सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए ।

तर, बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भएमात्र मेसीले क्लब छाड्न सक्ने बताइएको थियो । जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो । अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए ।

मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन् । उनी कोपा अमेरिकाअघि छुट्टी मनाउनका लागि जाँदा एइबारविरुद्धको खेल गुमाएका थिए ।

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए । मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष पूरा भइसकेको छ । सन् २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए । त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन् ।

प्रतिक्रिया