विज्ञप्ति लेखेर पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो : सांसद वली (विज्ञप्तिसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २१ श्रावण

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा तीन दिन बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छन् ।

बिहीबार वलीले पत्रकार सम्मेलन गर्दै आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कनसमेत नदिइ दबाब दिइएको खुलासा गरिन् ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू माओवादी केन्द्रमै रहेको समेत जानकारी गराइन् । पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उनले भनेकी छन्, ‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो । यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’

उनले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाएपनि आफूलाई कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको बताइन् ।

२० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताइन् ।

प्रतिक्रिया