कोरोनासम्बन्धी यस्तो छ स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
अखबार टुडे
प्रकाशित:
२०७८, २१ श्रावण

काठमाडौं, २१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेपनि यो संख्या क्रमशः घट्दै मन्त्रालयले प्रक्षेपण गरेको हो ।

बिहीबार स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ ।

यो संख्या घटेर मंसिर महिनासम्ममा २५ हजार १८३ पुग्ने जनाइएको छ । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले पेश गरेको विवरणमा उल्लेख छ ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने लोहनीले उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालयका अनुसार साउन २० गतेसम्म होम आइसोलेसनमा ३० हजार २७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १९४ जना, आइसियूमा ७१४ जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् । यस्तै पहिलो मात्रा खोप प्राप्त गर्नेहरुको संख्या ४२ लाख ९७ हजार ६१२ र पूर्ण खोप प्राप्त गर्नेहरुको संख्या २० लाख ७४ हजार छ ।

प्रतिक्रिया