यस्तो छ तीन दिनको मौसम : सतर्कता अपनाउन महाशाखाको अनुरोध
अखबार टुडे
प्रकाशित:
२०७८, २० श्रावण

काठमाडौं, २० साउन । नेपालमा अझै मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदलीरही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

यस्तै, बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना जनाइएको छ।

शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया