मदन पुरस्कारमा छानिएको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’मा के छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, १९ श्रावण

काठमाडौं, १९ साउन । २०७७ मदन पुरस्कारका लागि नौ वटा पुस्तक छानिएका छन् । नौ वटा पुस्तकमध्ये भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’ पनि परेको छ । लिम्बु तथा पूर्वी लिम्बूवानको ऐतिहासिक दस्तावेजहरु संलकन गरी तयार पारिएको उक्त पुस्तक यसै वर्ष प्रकाशित भएको हो ।

आफ्नो पुस्तक मदन पुरस्कारका लागि छनोट भएपछि लेखक तथा संकलक इङ्नामले भने, ‘पुरस्कारका लागि छनोट हुनु नै मेरो लागि खुसीको कुरा हो ।’ पूर्वसिडियोसमेत रहेका इङ्नामले थपे, ‘यस पुस्तकका लागि मिहिनेत पनि उत्तिकै गरेको छु । यो मेरो मिहिनेतको फल हो ।’

मदन पुरस्कार गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएका थिए । ती पुस्तकमध्येबाट इङनामको पुस्तक पुरस्कारका लागि छनोटमा पर्न सफल भएको हो । मदन पुरस्कारका लागि गुठीले छनोट भएका पुस्तक र लेखकको नामावली सार्वजनिक गरेपछि इङ्नामले आफूले पुरस्कार जितेजतिकै खुसी लागेको सुनाए ।

उनका अनुसार ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’का लागि झण्डै एक दशक खर्र्चिएका छन् । उनले भने, ‘यो पुस्तकका लागि दुई वर्ष पूरा खटेको छु । संकलन चाहिँ २०७० सालदेखि नै सुरु गरेको हुँ ।’ पुस्तक तयार गर्नका लागि पुर्वी लिम्बूवानको अधिकांश गाउँ तथा बस्ती डुलेको उनले सुनाए । खोज तथा अनुसन्धानका लागि पाँचथर, ताप्लेजुङ, संखुवासभा, धरान, धनकुटा, इलाम झापालगायतका जिल्ला तथा गाउँ डुलेको उनले सुनाए ।

पुस्तकमा वि.सं १७१९ देखि २०२० सम्मको लिम्बू इतिहास तथा तथ्यांक र दस्तावेजहरु संकलित छ । लिम्बू जातीको दस्तावेजको रुपमा प्रस्तुत ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’ प्रकाशन गर्नै १३ लाख रुपैयाँ बढी खर्च भएको लेखक तथा संकलक इङ्नामले बताए । अतित इङ्नाम र शान्तकला मुदेनसङ् साँवा प्रकाशक रहेको सो पुस्तको मूल्य व्यक्तिगत १८००, संस्थागत २५०० र हार्डकभरको पनि २५०० रहेको छ । पुस्तकमा ९१६ पुष्ठ छ ।

लेखक इङ्नामको यसअघि तेह्रथुम जिल्लाको सुभाङ्गी प्रथा (२०७०) सह लेखन, लिम्बू जातीको इतिहास–२०७५, लिम्बू जातीको संस्कृति झल्कने गीत तथा म्युजिक भिडियोलगायतका कृति प्रकाशित छन् ।

२०७७ को मदन पुरस्कारका लागि छनोट भएको अन्य पुस्तकमा गिरी श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’, वैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’ रहेका छन् ।

यसैगरी प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’ र जेशन कुँवरको ‘रमिते’ रहेका छन् । अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको गुठीको जनाएको छ ।
छनौटमा परेका ९ पुस्तकहरूमध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिने गुठीले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया