एमाले विवाद : पार्टी एकतालाई निष्कर्षमा पुर्याउने माधव पक्षको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १८ श्रावण

काठमाडौं,। १८ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल पक्षले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको माधव पक्षको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेता युवराज ज्ञवालीका अनुसार एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गर्ने निर्णय भएको छ । उनले भने, ‘आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ ।’
पार्टी एकता प्रक्रिया चलिरहेका बेला केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिले पार्टी एकतामा अवरोध सिर्जना गरेको माधव पक्षको निष्कर्ष छ ।

एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले एकपक्षीय बैठक राखेर पार्टी विभाग गठन र विभिन्न कार्यदल गठन गरिरहेको भन्दै उक्त कार्य रोक्न मागसमेत गरेको छ । सोमबार मात्रै ओली पक्षको बैठकले ९ वटा विभागमा सदस्यहरु नियुक्ति गरेको छ ।

त्यस्तै आइतबारको बैठकले महाधिवेशनका लागि विभिन्न कार्यदल गठन गरेको छ । ‘यस्ता गतिविधि रोकिनुपर्छ भन्ने निश्कर्ष छ’, ज्ञवालीले भनेका छन्, ‘अब हामी एमालेलाई रुपान्तरण गर्ने हो, पार्टी एकतालाई निष्कर्षमा पुर्याउने हो ।’

प्रतिक्रिया