मेलम्ची खानेपानीको भविष्य अन्यौल, १ अर्ब ८८ करोड बराबर क्षति भएको अनुमान
अखबार टुडे
प्रकाशित:
२०७८, १८ श्रावण

काठमाडौं, १८ साउन । मेलम्चीको बाढीले स्थानीय धनजनको मात्र क्षति गरेन, उक्त बाढीले लाखौँ राजधानीबासीको मेलम्चीको पानी खाने सपना समेत अन्योल बनाएको छ ।

आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी आयोजनालाई अनिश्चित बनाएको छ । सरकारले मेलम्ची खानेपानी आयोजना अनिश्चत बनाएको जनाएको हो । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको जानकारी दिइन् । आइतबार आएको लेदोसहितको बाढीले १७ घर बगाउनुका साथै पुल समेत भत्काएको छ ।

गत असार १ गते आएको बाढीले हेडवर्क्समा क्षति पु¥याएपछि मेलम्ची खानेपानी विकास समितिले सडक विभाग र नेपाली सेनाले सघाएमा माघ–फागुनसम्म फेरि काठमाडौंमा पानी ल्याउन सकिने बताएको थियो । तर, आइतबार थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्य थप अन्योलमा परेको हो ।

बाढीले आयोजनाको सुरुङ जोगिएपनि बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । आयोजनाको संरचनामाथि नै खोला बगिरहेको छ ।

‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भएपनि पानी ल्याउन सकिन्छ भन्ने थियो,’ सचिव बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौँ कि सक्दैनाँैं भएको छ ।’ उनका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थामा आधारमा विज्ञ टोलीले मेलम्ची आयोजनामा पनि समस्या पर्न सक्ने बताएका छन् ।

२१ वर्षदेखिको प्रयास गरिएको मेलम्ची खानेपानी आयोजना के हुने भन्ने अब यकिन छैन । सचिव बज्राचार्यले आयोजना भन्दा माथिको तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे एसियाली विकास बैंक (एडिबी)लाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनु आग्रह गरेको बताइन् ।
बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब १ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । तर, त्योभन्दा ठूलो धक्का भने मुहान क्षेत्र पुरिँदा लागेको छ ।

बाढीले पुरिएको भाग सहजै पन्छाउन नसकिने र पन्छाए पनि यसअघि बनेका संरचना काम लाग्छ कि लाग्दैन भन्ने टुंगो नभएको एक प्रविधिकले बताए । उनले भने, ‘नदीको सतह धेरै अग्लो र सुरुङसहितका अन्य संरचना होचो हुँदा प्राविधिक समस्या आउनसक्छ ।’ यससघि मुख्य बाँध नबन्दासम्मका लागि भन्दै अस्थायी बाँध बाँधेरै नदीबाट पानीलाई सिधै सुरुङमा हालिएको थियो । त्यसरी ल्याएको पानी काठमाडौं उपत्यकामा करिब दुई महिना वितरण गरिएको थियो ।

प्रतिक्रिया