म सरकारबाट हट्नेवित्तिकै दमन सुरु भो : ओली
अखबार टुडे
प्रकाशित:
२०७८, १७ श्रावण

काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेलगत्तै दमन सुरु भएको बताएका छन् । आइतबार तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । देश विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी सरकारबाट हटेको भोलिपल्ट स्काउटजस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो ।’ उनले २०० जना मान्छेलाई समेत भेला हुन नदिएको आरोप लगाउँदै भने, ‘तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गर्यो ।’

अध्यक्ष ओलीले विभिन्न जिल्लाबाट स्काउटका कार्यकर्ताहरु आउँदा बस बसबाट उतार्ने काम भएको भन्दै सभा गर्न नदिएको बताए । उनले भने, ‘यो भद्दा राजनीतिकरण र अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्र हो ।’ उनले यस्ता अलोकतान्त्रिक कदम नसच्याए प्रतिवाद गर्ने बताए ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकारलाई ‘प्रतिगमनकारी’को संज्ञा दिए । एमाले नेताकै हैसियतमा सहभागी माधव नेपाललाई बेसरमको संज्ञा दिँदै ओलीले भने, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’ वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया