अर्थतन्त्र

अमेजनलाई ८८.६६ करोड डलर जरिबाना : सेवाग्राहीको तथ्यांक दुरुपयोगको अभियोग

ब्रसेल्स, १६ साउन (एजेन्सी) । अमेजन कम्पनीलाई युरोपेली संघ ईयूको तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्यांक सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।
खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्यांकलाई छनोट गरेको दाबी गरेको छ । अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ ।
लक्जेम्बर्गको तथ्यांक सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भएपनि यो अहिले चर्चामा आएको हो । ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो ।
अमेजनकी एक प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
‘कुनै तथ्यांकको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रो पक्षलाई दिइएको छैन’ उनले भने, ‘यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन् ।’ आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वीकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने उनको भनाइ छ ।

Click to comment
To Top