महाकाली घटना : घटनास्थलमा तीन निकायका सुरक्षाकर्मी, भारतले भन्यो, ‘एसएसबीको संलग्नता छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण

काठमाडौं, १६ साउन । दार्चुला सदरमुकाम आउँदा तुइनबाट महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटनाको छानविन गर्न ३ वटा सुरक्षा निकायका अधिकारीहरु घटनास्थलमा पुगेका छन् । सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार सो घटनाको सम्बन्धमा सत्यतथ्य जानकारी गराई, आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनि भारतीय पक्षलाई पत्राचार गरिएको छ ।

यही साउन १५ गते अर्थात शुक्रबार बिहान ब्यास गाउँपालिका वडा नम्बर–२ खाङदाङ मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।

ब्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामीको अवस्था अझै अज्ञात छ । सो घटना अनुसन्धान र छानविनको क्रममा रहेको हुनाले दुई देशको सम्बन्धमा खलल पार्ने किसिमले प्रचार नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

भारतले भन्यो, ‘एसएसबीको संलग्नता छैन’

यसैबीच महाकाली घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनमा एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले आफूलाई पिथौरागढका जिल्ला अधिकारीले शनिबार लिखित जवाफ पठाएको बताउँदै तुुइन तर्न नसकेर युुवक आफैँ खसेको बाहिर आएजस्तो एसएसबीको संलग्नता नभएको जनाएको बताए ।

प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिएका छन् । घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको उनको भनाइ छ ।

प्रतिक्रिया