कोरोना जोखिम : स्मार्ट लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७८, १५ श्रावण

काठमाडौं, १५ साउन । कोभिड–१९ को संक्रमण पुनः जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाका अनुसार मन्त्रालयबाट स्मार्ट लकडाउनको प्रस्ताव भएको छ । यसअघि नै मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनीसमेत दिइसकेको छ ।

यस्तै, शुक्रबार देशभर थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ ।

हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको परीक्षण भएको थियो ।

प्रतिक्रिया