रोकी राखेको यात्रुवाहक बसमा ट्रक जोतिँदा १८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १३ श्रावण

काठमाडौं, १३ साउन । भारतको उत्तर प्रदेशमा एउटा यात्रुवाहक बसमा ट्रक जोतिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान हरियाणा राज्यमा काम गर्न गएका र बिहार राज्यस्थित घर फर्किएका कामदारहरू उक्त दुर्घटनामा परेको बताइएको छ ।

सयौँ किलोमिटर टाढाबाट आएको उनीहरूको बस उत्तर प्रदेशको बाराबङ्की जिल्लामा बिग्रिएपछि रोकेर राखिएको थियो । बिबीसीले जनाएअनुसार आज बिहान सबेरै ट्रक आएर जोतिँदा यात्रुमध्ये केही बसमै थिए भने केही बाहिर सडकमा सुतिरहेका थिए । प्रहरीले बीबीसीलाई बताएअनुसार उक्त बसमा क्षमताभन्दा बढी यात्रु चढेका थिए ।

बस बिग्रिएपछि केही यात्रुहरू सडकमा सुत्न गएका थिए भने चालक बस बनाउने मिस्त्री खोज्न गएको बाराबङ्की प्रहरीका अधिकारी यमुना प्रसादले बताए । उनले भने, ‘यो दुःखद घटना हो । पैँसट्ठी जना बोक्ने क्षमता भए पनि झन्डै १४० यात्रु चढेकाले बस बिग्रिएको हुनसक्छ ।’ उनका अनुसार उक्त बसमा एअर–कन्डिशनर भएकाले झ्याल थिएन । त्यसैले गाडी बिग्रिएपछि केही यात्रुहरू बाहिर सडकमा गएर सुतेको अनुमान गरिएको छ ।

बाराबङ्कीस्थित अस्पतालहरूमा कम्तीमा ३० जनालाई भर्ना गरिएको छ । तीमध्ये केही गम्भीर घाइते छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५०,००० भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया