तत्काल मन्त्रिपरिषद विस्तार गर्ने गठबन्धन दलहरुबीच सहमति
अखबार टुडे
प्रकाशित:
२०७८, १३ श्रावण

काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सहमति भएको छ । बधुबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको शीर्ष बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेपाली काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार केही दिनमै मन्त्रिपरिषद विस्तार भइसक्नेछ । बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे समेत छलफल भएको छ ।
यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

प्रतिक्रिया