जोन्सन एण्ड जोनसोन खोप भक्तपुर र ललितपरमा आज पनि लगाइँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ७ श्रावण

काठमाडौं, ७ साउन । अमेरिकाले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको जोनसोन एन्ड जोन्सनको खोप काठमाडौं महानगरपालिकाभित्र लगाइसकिएको छ । खोप सकिएकाले बिहीबार काठमाडौंमा कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार आज अन्य जिल्लामा भने यो खोप दिइँदैछ ।
अमेरिकी कम्पनीद्वारा निर्मित यो खोप बुधबारमात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले लगाएको कामनपाले जनाएको छ । बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लामा एक लाखले खोप लगाए । आज भक्तपुर र ललितपुरमा खोप जारी छ ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्ने बताइएको छ । तर, पछिल्लो एक अध्ययनका अनुसार यो खोप अर्को डोज पनि लगाउन पर्ने अवस्था आउने बताइएको छ । अध्ययनका क्रममा यो खोप ३३ डेल्टा भेरियन्टविरुद्ध ३३ प्रतिशत मात्र प्रभावकारी देखिएको छ ।
नेपालमा यो खोप सुरूमा ५० देखि ५४ वर्षका सबै, शरणार्थी, विदेश जाने र अपंगता भएका व्यक्तिहरूलाई दिने भनिएको थियो । उनीहरूलाई लगाएर केही खोप बचेपछि बुधबार काठमाडौंमा १८ वर्षमाथिका सबैलाई दिइएको हो । यदि अर्को डोज पनि दिनुपर्ने अवस्था आएमा फेरि यो खोपको आवश्यकता हुनेछ । तर, अब अर्को पटक यो खोप आउनेमा अहिलेसम्म कुनै निश्चित छैन ।

प्रतिक्रिया