गठबन्धन सरकार सफल बनाउन साझा कार्यक्रम गर्ने माओवादीको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, ६ श्रावण

काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक रहेको भन्दै साझा कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम बनाउने र सोहीअनुसार सरकार सञ्चालन गर्ने नेकपा माओवादीले निर्णय गरेको छ ।

बुधबार बसेको माओवादीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । बैठकले गठबन्धन सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गरेको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार गठबन्धनको सरकार यसअघिको सरकार जस्तो हुनु नहुने भन्दै प्रवृतिका विरुद्ध सबै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ ।

उनले भने, ‘गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आव्हान गर्न कार्यदलका सदस्यहरुलाई निर्देशन दिएको छ ।’

त्यस्तै माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने भएको छ ।

प्रतिगमन विरुद्धको संघर्ष सफल पारेपछि अब सरकारलाई सकारात्मक ढंगले सञ्चालन गर्ने हाम्रो मिहिनेतको अतिरिक्त पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित पार्ने निस्कर्ष निकालेको श्रेष्ठले बताए । बैठकको गृहकार्यको तयारीस्वरुप साउन १७ गते स्थायी समिति बैठक बस्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया