हेलम्बु र मेलम्चीका बाढी पीडितलाई इन्द्रेणीको रोवहरमा ८० लाख सहयोग
अखबार टुडे
प्रकाशित:
२०७८, ६ श्रावण

सिन्धुपाल्चोक, ६ साउन । गत १ असारमा आएको बाढीपहिराबाट सिन्धुपाल्चोको हेलम्बु र मेलम्ची नगरपालिकाका प्रभावितलाई टेलिभिजन कार्यक्रम इन्द्रेणीले ८० लाख ८६ हजार रुपैयाँ सहयोग गरेको छ ।

इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बु गाउँपालिकालाई ६२ लाख रुपैयाँ, मेलम्ची नगरपालिकालाई १८ लाख ३६ रुपैयाँ र रेडियो मेलम्चीलाई ५० हजार रुपैंयाँ बुधबार हस्तान्तण गरेको छ । इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलाई सो रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम देश विदेशबाट आफ्नो गाँस कटाएर गरिएको सहयोग भएको कँडेलले बताए ।

इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ ओटा परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका कँडेलले जानकारी दिए ।

हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भईसकेको छ । ३ लाख ६६ हजार रुपैयाँ बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुने बताइएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै बडादसैंसम्ममा आफ्नै घरमा प्रभावित नागरिकलाई साररै छाड्ने प्रतिबद्धता व्यक्त गरे । हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० ओटा घरको निमार्णको शुरु भइसकेको उनले बताए ।

गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले बताएको छ । कुल १०७ ओटा घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहेपनि करीब ९० ओटा घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए ।

त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले प्राप्त रकम पीडितहरुको लागि खर्च गरिने बताए । तत्काल आवश्यकता भनेको पीडितहरुको पीडामा थोरबहुत सहयोग गर्नु भएको बताउँदै उनले भने, ‘यो रकम पीडितहरुकै लागि खर्च गर्ने प्रतिबद्धता गर्दछुु ।’

प्रतिक्रिया