जोन्सन खोप ३३ प्रतिशतमात्र प्रभावकारी : अध्ययन
अखबार टुडे
प्रकाशित:
२०७८, ६ श्रावण

काठमाडौं, ६ साउन । अमेरिकन कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाभाइरस विरूद्धको एक डोजमात्र लगाए पुग्ने खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी देखिएको छ । मंगलबार प्रकाशित एक अध्ययनअनुसार उक्त खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख छ ।
अध्ययनका लागि प्रयोगशालामा संकलित रगतको नमूनाबाट गरिएको भएकाले आम मानिसको ठूलो संख्यामा खोपको प्रभावकारिता फरक हुन सक्ने रिपोर्टमा जनाइएको छ । तर, अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्न सक्ने बताएका छन् ।
हालसम्म जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन् । नेपालमा समेत उक्त खोप लगाउन सुरु गरिएको छ । अमेरिकी सरकारले नेपाललाई अनुदानमा उक्त खोप १५ लाख डोज उपलब्ध गराएको छ ।
जोन्सन एन्ड जोन्सन खोप ४ साउनदेखि नेपालमा लगाउन सुरू भइसकेको छ । अहिले उक्त खोप ५० देखि ५४ वर्षका मानिसलाई लगाइँदैछ ।
यसअघि जोन्सन एन्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको रिपोर्टमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो । तर, पछिल्लो अध्ययनको रिपोर्टमा ‘पियर रिभ्यू’ नभएको र यो साइन्टिफिक जर्नलमा पनि प्रकाशन हुन बाँकी रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि एउटा अध्ययनले पनि अक्सफोर्ड÷अष्ट्राजेनेका भ्याक्सिनको पहिलो डोज लगाउँदा डेल्टा भाइरसविरूद्ध प्रभावकारिता ३३ प्रतिशत हुने देखाएको थियो ।
उक्त खोपको अनुसन्धानको नेतृत्वकर्ता मध्ये नाथनियल लान्डाउले भन्छन्, ‘हामी मानिसहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाउनु हुन्न भन्ने सन्देश दिन चाहँदैनौँ । अहिले यो खोप लगाउनेले भविष्यमा जोन्सन एन्ड जोन्सन वा मोडेर्ना वा फाइजरको अर्को बुस्टर डोज लगाऊन् भन्ने हाम्रो आशा हो ।’
डेल्टा अहिलेसम्म भेटिएका कोरोनाभाइरसका प्रकारमध्ये सबैभन्दा संक्रामक भेरियन्ट भएको अनुसन्धानले बताइसकेको छ । पछिल्लो समय अमेरिकामा पनि यसको संक्रमण बढिरहेको छ । अहिले अमेरिकामा भेटिएका संक्रमितमध्ये ८३ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको छ । नेपालमा समेत कोरोनाभाइरसको दोस्रो लहर आउँदा डेल्टा भेरियन्ट देखिएको थियो ।
डेल्टा भेरियन्टविरूद्ध जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता कम देखिए नेपालमा पनि यो खोप लगाएका मानिसहरूले अर्को खोप लगाउनु पर्ने हुन सक्छ । तर, नेपालमा अमेरिकाले दिएको १५ लाख डोजबाहेक अन्य अमेरिकी खोप ल्याउने टुंगो भएको छैन ।

प्रतिक्रिया