प्रचण्ड र माधवको सुरक्षा बढाइयो
अखबार टुडे
प्रकाशित:
२०७८, ५ श्रावण

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको छ ।
अध्यक्ष प्रचण्डको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्डविपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई खटाइएको हो । कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको छ । तर, सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई थप सुरक्षा दिइएको गृह स्रोतको भनाइ छ ।

यसअघि गृहमन्त्री रामबहादुर थापा (बादल)को कार्यकालमा भीआईपी सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई घरेलु काममा प्रयोग गरिएकाले विकृति बढेको भन्दै भीआईपी सुरक्षा मापदण्ड बनाएको थियो । पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।

यसैबीच, नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।

प्रतिक्रिया