ओलीनिकट आठ सांसदद्वारा फ्लोर क्रस
अखबार टुडे
प्रकाशित:
२०७८, ३ श्रावण

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको विश्वास पाएका छन् ।
पुर्नस्थापित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले गरेको विश्वासको मतको परीक्षणमा बहुमत अर्थात् १ सय ६५ सांसदको समर्थन जुटाएका हुन् ।
देवालाई विश्वासको मत दिनेमा ओलीनिकट ८ जना सांसद पनि रहेका छन् । देउवाका पक्षमा फ्लोर क्रस गर्नेमा हिरा केसी, पार्वती विसुंखे, गोपाल बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठ रहेका छन् ।
सर्वोच्चको असार २८ गतेको फैसलापछि प्रतिनिधिसभा पुनःस्थापना भएको हो । अदालतकै परमादेशबमोजिम कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले संवैधानिक प्रावधानअनुसार आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका हुन् ।
योसँगै देउवाले प्रतिनिधिसभाको कार्यकालसम्म सरकारको नेतृत्व गर्नेछन् भने उनले नै चुनाव गराउनेछन् । यसअघि २०७४ मा पनि देउवा नेतृत्वको सरकारले नै चुनाव गराएका थिए ।

प्रतिक्रिया