काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा मत दिने बताएका छन् । अध्यक्ष ठाकुरले देउवाले चिठी पठाएर भोट मागेकोले आफ्ना माग पूरा गरिदने वाचासहित देउवाको समर्थनमा मत दिने बताएका हुन् ।
‘प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो हामीले स्वीकार ग¥यौं,’ उनले भने, ‘हामी विश्वासको मत दिन्छौँ ।’ अध्यक्ष ठाकुरले आफूहरूले उठाइरहेका माग पूरा गर्न पनि आग्रह गरेका छन् ।
नयाँ प्रधानमन्त्री बनेकोमा देउवालाई धन्यवाद दिँदै देउवा जनादेशबाट नभइ परमादेशबाटै प्रधानमन्त्री बनेको समेत उनले बताए । जब प्रधानमन्त्रीको निर्वाचन वा नियुक्तिको प्रसंग आउँछ तब, आफूलाई आफ्नो पार्टी पनि प्रताडित र घायल पाएको बताए ।
‘हामीले सुशील कोईरालालाई मत दिँदा पनि बदलामा हाम्रो आन्दोलन कमजोर भएको थियो’, अध्यक्ष ठाकुरले भने, ‘हामी आन्दोलनमा यही संविधानको बिरुद्धमा थियौँ, आज फेरि हामी आफूलाई घायल पाइरहेका छौँ ।’
प्रधानमन्त्री देउवालाई मत दिएपनि सत्ता संघर्ष गरेको प्रताडित र उत्पीडित समूहले आम जनताको समूहलाई सम्बोधन गर्न नसक्ने बताए । अध्यक्ष ठाकुरले आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको बताए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही माग पूरा गरेकोमा धन्यवाद दिए ।