अबको तीन दिन मनसुन थप सक्रिय हुने, बाढीको जोखिम भएकाले सावधानी अपनाउन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २ श्रावण

काठमाडौं, २ साउन । अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।
भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने मौसमविद् मञ्जु बासीले जानकारी दिएका छन् । उनका अनुसार यो अवधिमा केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।
आज विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश–२ र प्रदेश–१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश– १ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । भने अरु ठाउँको मौसम बद्ली भएर हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिए ।
यसैबीच आजदेखि तीन दिनसम्म केही नदी तथा खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया