अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियममा ७० जनाको मृत्यु, कयौँ बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०७८, १ श्रावण

काठमाडौं, १ साउन (एजेनसी) । अत्यधिक वर्षापछि आएको बाढीले युरोपेली देश जर्मनी र बेल्जियममा ७० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् । बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ ।

सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारको काम गरिरहेका जनाइएको छ । सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् । बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द गरिएको छ भने कयौँ सडक खण्डमा पनि क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ ।

पश्चिमी जर्मनीसँग जोडिएका अन्य देशमा पनि बाढीको असर परेको खबरमा उल्लेख छ। आज पनि जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स लगायत युरोपका केही देशमा ठूलो पानी पर्ने चेतावनी दिइएको छ। पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको त्यहाँका मौसम विभागले जनाएका छन् ।

प्रतिक्रिया