पूर्वेली भाकामा ‘पहिलेको जस्तो लालज्योती छैन’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ असार

काठमाडौं, ३१ असार । पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले आफ्नो नयाँ गीत ‘लालज्योती’को भिडियो दर्शकमाझ ल्याएका छन् । विभिन्न चर्चित पूर्वेली लोकभाका गाएर आफुलाई लोक गायकको रुपमा स्थापित गरेका गायक घिमिरेले यो गीत पनि त्यत्तिकै कर्णप्रिय बनाएका छन् ।

गायक घिमिरेलाई यो गीतमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् । गीतमा भानु ओलीको संगीत रहेको छ । गीतको शब्द पनि भानुले नै तयार गरेका हुन् । यसअघि आफ्नो स्वरमा एक दर्जन गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेका गायक गँगाप्रसालले दर्शकको चाहना अनुसार यो नयाँ लोक भाका बजारमा ल्याएको बताए ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर यो गीत तयार गरिएको छ । गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई रोहित लाम्गाडेले निर्देशन गरेका छन् । भिडियोको छायाँकन पनि रोहितकै हो ।

भिडियोमा मोडलहरु सुवोध रसाईली र अन्जली माझीको अभिनय रहेको छ । सुवोध र अन्जली दम्पतीको रुपमा यो गीतमा प्रस्तुत भएका छन् ।
उनीहरुको मेलापातसँगैको निम्नबर्गिय जीवन शैलीलाई भिडियोमा प्रस्तुत गरिएको छ । ढल्कँदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको वैंश संधै नरहने प्रसंग यो गीतमा प्रस्तुत गरिएको गायक गंगाप्रसाद घिमिरेले बताएका छन् ।

आधा दशकदेखि लोक गायनमा सक्रिय गंगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् ।

प्रतिक्रिया