बालुवाटार प्रकरण : देउवा प्रधानमन्त्री भएलगत्तै विजय गच्छदार अदालतमा हाजिर
अखबार टुडे
प्रकाशित:
२०७८, ३० असार

काठमाडौं, ३० असार । प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याउने अभियोग लागेका कांग्रेस उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाउँदै डेढ वर्षअघि उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।
आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार बुधबार विशेष अदालतमा हाजिर भएको हो । लामो समयदेखि अदालतमा म्याद नबुझेपछि अदालतले सार्वजनिक सूचना समेत जारी गरेको थियो ।
हाजिर हुन सार्वजनिक सूचना जारी गर्दासमेत हाजिर नभएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अदालतमा हाजिर भएका हुन् । अदालत स्रोतका अनुसार उनी बुधबार बिहान सहयोगीसहित अदालतमा उपस्थित भएका छन् ।
अदालतमा हाजिर नभएपछि ओली नेतृत्वको सरकारको आँखा फरार रहेका गच्छदार देउवा प्रधानमन्त्री हुनेवित्तिकै हाजिर हुुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टीकै सार्वजनिक कार्यक्रमहरुमा समेत उनको सहभागी खाशै देखिन छाडिएको थियो । गच्छदारलाई अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि अहिले सांसद पदबाट निलम्बित छन् ।

प्रतिक्रिया