विश्व

इराकको एक कोभिड अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु

बगदाद, २९ असार (एजेन्सी) । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।
उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ ।
विशेषगरी कोभिडका विरामीहरुको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । नासियारा शहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ ।
उक्त अस्पतालमा निर्माण गरिएको कोभिड १९ का संक्रमितहरुलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१जनाको ज्यान नै गएको बताइएको छ भने अरु केही विरामीहरु घाइते भएका छन् ।
अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रकहरु आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ ।
इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीको कारण र यसले उत्पन्न गर्नसक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक नै बोलाउनुभएको थियो ।
त्यस्तै इराकको संसदका सभामुखले सोमबार राति ट्वीट गर्दै इराकी संसदको बैठकमा मंगलबार सो आगलागीका बारेमा छलफल गरिने कार्यक्रम बनाइएको जानकारी दिनुभएको थियो ।
यहाँको प्रहरीले उक्त अस्पताल भवनमा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान थालेको बताएको छ । त्यस आगलागीमा परेर ज्यान जानेमा प्राय विरामीहरु नै परेका अनुमान गरिएको छ ।
यस विषयमा अस्पतालले केही बताएको छैन । अस्पतालले सो अस्पताल भवनमा कोभिड १९का संक्रमितहरुको उपचार केन्द्र राखिएको र त्यहाँ कोभिडका मात्र विरामीको उपचार गर्ने गरिएको जनाएको छ ।

Click to comment
To Top