
काठमाडौ, २९ असार । सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप अभियान अन्तर्गत आज (मंगलवार)देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो ।
भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइनेछ । यस्तै सोमवार अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५५ उमेर समूहबाहेक पूर्ण र अति अशक्त÷शारीरिक अपांगता भएका व्यक्ति, नेपालमा बसोवास गरिरहेका विदेशी शरणार्थी र स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीलाई लगाउने निर्णय मन्त्रालयले गरेको हो । जोनसन खोपको मात्रा एक पटक मात्र दिए पुग्छ ।
मन्त्रालयका अनुसार खोप यसअघि तोकिएका केन्द्रबाटै लगाउन लागिएको छ । यसका लागि सरकारबाट जारी भएको उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । सरकारले चीनसँग ४० लाख डोज खोप खरीद गरेकोमा शुक्रवार पहिलो चरणमा ८ लाख डोज भेरोसेल र सोमवार कोभ्याक्स सुविधाअन्तर्गत १५ लाख ३४ हजार ८५० जोन्सन एण्ड जोन्सनको खोप नेपाल आइपुगेको हो ।
चीनसँग खरीद गरिएको खोप हरेक साता नेपाल आउने पक्का भएको भन्दै मन्त्रालयका सहप्रवक्ता अधिकारीले थप खोप खरीदका लागि पनि प्रक्रिया अघि बढेको बताए । ‘कोभिशिल्ड खोपका लागि भारतबाहेकको विकल्प खोजिरहेका छौं,’ उनले भने । ‘साथै अन्य देशसँग खोप खरीदका लागि पनि पहल भइरहेको छ ।’
हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको आग्रह समेत गरेको छ
