इंग्ल्याण्डलाई हराउँदै इटलीले ५२ वर्षपछि जित्यो युरोकपको उपाधि
अखबार टुडे
प्रकाशित:
२०७८, २८ असार

काठमाडौं, २८ असार । इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । सोमबार बिहान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन–दुईले हराउँदै इटली विजेता बनेको हो ।

५२ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । तर पेनाल्टी सुटआउटमा सफल हुन नसक्दा पहिलो युरो जित्ने सपना पूरा गर्न सकेन ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार जोगाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट भएको हो ।

खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो । सम्हालिन नपाउँदै सुरुमै गोल खाएपछि इटली बराबरी गोल फर्काउनतर्फ लाग्यो ।

पहिलो हाफमा इंग्ल्याण्डले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा थप गोल गर्न सकेन । इटलीले भने दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे । जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो । इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो ।

प्रतिक्रिया