काठमाडौं, २७ असार । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले गएको बुधवार आयोगमा दिएको निवेदनमा निर्वाचन आयोगले अवैधानिक नरहेको भन्दै खारेज गरिदिएको हो ।
आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी एनले तोकेका प्रावधान र अन्य नियमका आधारमा माओवादी केन्द्र वैध रहेको र निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
पूर्वमाओवादीका नेताहरूले गएको बुधवार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक रहेको भन्दै आयोगमा निवेदन दिएको थियो । निवेदनको सुनुवाइबारे बुझ्न नेताहरू आयोगमा पुगेका थिए ।