एक महिनादेखि बेपत्ता सुजिताको शव गाडेको अवस्थामा भेटियो
अखबार टुडे
प्रकाशित:
२०७८, २७ असार

महोत्तरी, २७ असार । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव शौचालय बनाउन खनेको खाल्डोमा भेटिएको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । ठाकुरको शव उनकै ससुरा पतिरामको खेतमा निर्माणाधीन शौचालयको सेप्टी ट्याङ्कीमा सडेको अवस्थामा भेटिएको हो ।

सुजिताको शव नौ फिट गहिरो सेप्टी टयाङ्कीको भित्र चार फिट गहिरो अर्को खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताए । शवमाथि ढलानसमेत गरिएको थियो । सङ्घीय प्रहरी, प्रदेश प्रहरी, जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त प्रयासमा शव भेटाउन सफल भएको विष्टले बताए ।

प्रहरीले गएको असार १३ गते सुजिताका श्रीमानको खेतमा चार फिट गहिरो खाल्डो खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भेटाउन सकेको थिएन । श्रीमान् र ससुराले उनको हत्या गरेको माइती पक्षको आरोप छ ।

सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई पक्राउ गरेको छ । बाँकी रहेका सुजिताकी सासू, ससुरा र देवरानी भने अहिले पनि फरार रहेका छन् । उनीहरू भारतमा लुकेर बसेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रतिक्रिया