प्रधानमन्त्रीद्वारा वीरको नवनिर्मित सर्जिकल भवनको उद्घाटन : ‘खोपका लागि आतिनु पर्दैन’
अखबार टुडे
प्रकाशित:
२०७८, २७ असार

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन् ।
आइतबार काठमाडौंमा कोभिड–१९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई अब खोपको अभाव नहुने बताएका हुन् ।

केही समय खोपको अभाव देखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सोही अवस्था दोहोरिन नदिने गरि काम भइरहेको जिकिर गरे । उनले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी न्युनिकरणको अभियानमा लक्ष्यअनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दावी गरे ।

त्यस्तै, उनले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताए । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७–८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उनले बताए ।

वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने योजना रहेको अस्पतालका प्रशासकिय अधिकारी प्राडाजागेश्वर गौतमले जानकारी दिए ।
हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको उनको भनाई छ ।

प्रतिक्रिया