चीनबाट ८ लाख डोज खोप नेपाल ल्याइयो
अखबार टुडे
प्रकाशित:
२०७८, २५ असार

काठमाडौं, २५ असार । नेपाल सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोप ल्याएको हो ।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।
आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइनेछ ।

प्रतिक्रिया