देश-विदेशसम्म ट्रेण्डिङमा फड्को मार्दै राजेशपायलको ‘चोरी भो’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २४ असार

काठमाडौं, २३ असार । केही दिनयता नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राई चर्चामा छन् । त्यसो त उनी सधैँ चर्चामै हुन्छन् । गीत संगीतसँगै ‘बिहेका कुरा’ले चर्चामा आइरहने यसपटक भने राजेशपायलको ‘भावनात्मक सहयोगी’ भन्दै चर्चा गरिएको छ ।

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’बाट बाहिरिएकी मेलिना मैनालीलाई गीतको अफर दिएपछि उनलाई अनुदार भनिएको हो । तर, उक्त गीतले राजेशपायललाई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा ल्याएको छ ।

मेगास्टार राजेशपायल र नवोदित गायिका मेलिना मैनालीले गाएको ‘चोरी भो’ बोलको गीत २४ घण्टा नबित्दै नेपालका अलावा साउदी, कतार, मोरक्को र ओमनका समेत यु–ट्युब ट्रेण्डिङमा परेको छ ।

यो समाचार तयार पारिरहँदा यस गीतले १ लाख ५२ हजार बढी श्रोता तथा दर्शक पाइरसकेको छ भने नेपालको यु–ट्युब ट्रेण्डिङमा २३ नम्बरमा छ ।

मेगास्टार राजेशपायलकै अफिसियल यु–ट्युब च्यानल ‘राजेशपायल राई’मा स्टुडियो भिडियोमात्र अपलोड गरिएको गीतले यति छोटो समयमै यतिका श्रोता÷दर्शक पाउनु नेपाली गीतसंगीत क्षेत्रका लागि नै खुसीको कुरा हो । यो गीत बुधबार साँझ ५ बजे अपलोड गरिएको हो ।
मेगास्टार राजेशपायलले भने, ‘यो आमनेपाली संगीतकर्मीका लागि खुसीको कुरा हो किनकि, यो गीत नेपालमा मात्र नभएर विदेशमा समेत ट्रेण्डिङमा आएको छ ।’

‘द भ्याइस अफ नेपाल’मा सहभागी जनाइरहँदा मेलिनाको गायन प्रतिभा देखेर आफूले उनलाई मौका दिएको राजेशपायलको भनाइ छ । उनले भने, ‘प्रतिभा भएकाहरुलाई अवसर दिनुपर्छ भन्ने मेरो धारणा हो ।’

राजेशपायल जस्ता भर्सटायल गायकको साथ पाएपछि मेलिना मैनाली पनि दंग छिन् । रियालिटी शोमा टाइटल उपाधि हात नपारेपनि अब यस गीतसँगै उनको सांगीतिक करिअर अगाडि बढ्ने धेरैले आँकलन गर्न थालेका छन् ।

प्रतिक्रिया