काठमाडौं, २४ असार । संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ ।
काठमाण्डौमा रहेको अमेरिकी दूतावासका प्रवक्ता एना रिची एलनले नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्ने गरी खोप ल्याउने उद्देश्यले काम भइरहेको बताउएका छन् ।
सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न गरिरहेको उनको भनाइ छ । अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण अहिलेसम्म खुलाइएको छैन । दुई हप्ताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बताएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्यान्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गएको जुन महिनामा गरेको थियो । अघिल्लो हप्ता अमेरिकाले दक्षिण एसियाका पाकिस्तान र बङ्गलादेशलाई २५÷२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।