संक्रमित पुनः बढन् थाले : बुधबार २९७९ मा संक्रमण पुष्टि, २८ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २३ असार

काठमाडौं, २३ असार । निषेधाज्ञा खुकुलो बनाइएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेका छन् । उपत्यकाका काृभिड अस्पतालका बेडहरु पुनः भरिन थालेका छन् ।

बुधबार नेपालमा थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११,८९८ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ५,०८२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो । कुल परीक्षणको २६.५ प्रतिशतमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । यस्तै, सोही अवधिमा १,३३३ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै नेपालमा संक्रमितको कुल संख्या ६ लाख ९१ हजारनाघेको छ भने मृतकको संख्या ९,२९१ पुगेको छ । हाल कुल २३,७५६ जनामा सक्रिय संक्रमण रहेको र तीमध्ये २,७८८ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

बुधवार पुष्टि भएका कुल संक्रमितमध्ये ५४३ जना काठमाडौं उपत्यकामा रहेका छन् । हाल देशभरिका नौ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने थप २३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । संक्रमितको संख्या घटेको भएपनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्यांकले देखाएको छ ।

बुधबार पुष्टि भएकामध्ये काठमाडौमा ३९० जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः ८६ र ६७ जना रहेका छन् । मन्त्रालयका अनुसार संक्रमितमध्ये अहिले ५७१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६१ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया