काठमाडौं, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले विवाद समाधान गर्न गठित बुधबार बसेको कार्यदलको बैठकको सकरात्मक निष्कर्ष निकालेसँगै अध्यक्ष ओली र नेता नेपालीबीच अहिले छलफल सुरु भएको हो ।
अध्यक्ष ओली र नेपालीबीच काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता भएको छ । पार्टीमा पछिल्लो समय विवाद उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेटवार्ताको पहल भइरहेको थियो । तर, यसअघि नेता नेपालले भेटवार्ता अस्वीकार गरेका थिए ।
गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भएपनि सकारात्मक हुन सकेको थिएन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । नेता नेपालले भने हस्ताक्षर फिर्ता नहुने बताएका छन् ।
तर, बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि दुवै पक्ष सकरात्मक भएका छन् । वार्ता सकरात्मक भएपछि कार्यदलकै सदस्यहरुले अध्यक्ष ओली र नेता नेपाललाई भेटवार्तामा लागि पहल गरेका थिए ।