‘खेदा’मा यसरी झल्काइयो पालाम र विवाह संस्कृति (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २३ असार

काठमाडौं, २३ असार । लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ । रुबुशा क्रिएटिभ वर्कले युट्युवमार्फत सार्वजनिक गरेको ‘खेदा’मा लिम्बू जातिको धाननाच संस्कृतिलाई प्रस्तुत गरिएको छ ।

भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण थाप्न जाँदा उमेर पुगेको आफ्नो नातीले बुहारी नल्याएको चिन्ताबाट प्रारम्भ गरिएको यस लघुचलचित्रमा धाननाचबाटै एक अर्कामा मनपराइएका युवायुवतीबिच विवाहका लागि माग्न जाने (मागी विवाह)लाई उजागर गरिएको छ ।

लिम्बू संस्कृतिमा धाननाच तथा पालामलाई परम्परागत संस्कारका रुपमा लिइन्छ । विवाह, मेला–पात वा मर्दा मर्दा लिम्बू समुदायका धान नाच्ने चलन छ । र, ती धाननाचको आ–आफ्नै शैली रहेको छ ।

‘खेदा’मा विवाह सामारोहमा नाचिने धाननाच देखाइएको छ । उक्त पालामलाई गायिका मनु नेम्बाङ र सुमन लिम्बूले गाएका हुन् । नेम खापुङ लिम्बूको शब्दरचना रहेको यस पालामको लय संकलन सुमन लिम्बू र संगीत संयोजन अशोक लोहोरुङ राईले गरेका हुन् ।
‘खेदा’मा मनु र सुमनका अलावा भीम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दीपा सुहाङ, दीवस पयाँगु लिम्बू, रोजिना थेगिम लिम्बूलगायतको पनि स्वर रहेको छ ।

गायक रुकमान लिम्बू र सवनम साबा लिम्बूको मुख्य अभिनय रहेको ‘खेदा’मा यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दीपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेम लगायतले अभिनय गरेका छ ।

यस लघुचलचित्रका लागि लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डिबी आङबुङ लिम्बूले गरेका छन् । भिडियोका लागि तेह्रथुमे ढाका बुटिक, सेमिमा कलेक्सन र माङ्गेना ढाका पसलले पहिरन तयार गरेका हुन् ।

लोकेन साँवा लिम्बूको निर्देशन लोकेन रहेको यस भिडियोमा याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याबु्रङ नृत्य रहेको छ । विकास दाहालको सम्पादन रहेको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

प्रतिक्रिया