काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूह र अर्का अध्यक्ष महन्थ ठकुर समूह दुवै पक्षले आफूहरूको धार नै फरक भइसकेको भन्दै अब मिल्न नसकिने बताएका छन् ।
जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार दुबै पक्षलाई आयोगमा छलफलका लागि बोलाएको थियो । छलफलमा दुबै पक्षको अडान यथावत रह्यो । छलफलमा आफ्नो अडान नछोडेका दुबै समूहका नेताले यस्तो अवस्थामा एक ठाउँमा रहन नसकिने भन्दै आ–आफ्नै बाटो रोज्नु नै उत्तम हुने प्रतिकृया दिएका छन् । छलफलमा सहभागी नेताहरुले भने– ‘अब आ–आफ्नै बाटो लाग्नु नै उत्तम हुन्छ ।’
मंगलबारको छलफलमा सहमति जुट्न नसकेपछि अब दुबै समूहले आधिकारिकता दावी गर्ने भएका छन् । निर्वाचन आयोगले दुबै समूहलाई आधिकारिकता दावी गर्न भनेको छ । दुई समूहबीच कुरा नमिलेपछि आयोगले जसपाको विवाद समाधानका लागि इजलास गठन गर्ने भएको छ । दुबै समूहले बुधबार आधिकारिकता दावी गर्नेछन् ।
प्रतिनिधि सभा विघटन ठिक हो भन्दै महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी भइसकेको थियो । तर उपेन्द्र यादव पक्षले भने ओलीले प्रतिगामी काम गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेको छ । विवाद बढ्दै गएपछि दुवै पक्षले एक÷अर्को पक्षका नेताहरूलाई कारबाही गरेका छन् । तर आयोगले भने कारबाहीलाई मान्यता दिएको थिएन ।